आर्थिक मुद्दामा सोनिया र राहुलमाथि छानबिन थालेपछि भारतभर प्रदर्शन

न्युजलय ३१ जेठ २०७९, मङ्गलबार ०८:२२ मा प्रकाशित

नयाँदिल्ली । भारतीय विपक्षी दल कंग्रेस अध्यक्ष सोनिया गान्धी र नेता राहुल गान्धीमाथि आर्थिक अनियमितताको आरोपमा छानविन थालिएपछि भारतभर प्रदर्शन चर्किएको छ । प्रवर्तन निर्देशनालय (ईडी) ले आर्थिक अपचलनका विषयमा छानबिन थालेको हो । 

दुवैलाई बोलाइएपनि सोमबार राहुल मात्र बयानका लागि उपस्थिति भए । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका कारण सोनिया अनुपस्थित भएकी हुन् । 

ईडीले गान्धीद्वयमाथि नेशनल हेराल्ड मुद्दामा जाँच गरिरहेको छ । राहुलाई करिब ५० वटा प्रश्न सोधिएको जनाइएको छ । राहुलले तीन घण्टा लगाएर ती प्रश्नको जवाफ दिएका हुन् ।

भाजपा नेता सुब्रमण्यम स्वामीले दस वर्ष अगाडि सोनिया र राहुलविरुद्ध मुद्दा दायर गरेका थिए । जसमा गान्धी परिवारमाथि ५५ करोडको अनियमितता गरेको आरोप लगाइएको छ ।

सन् २०१० मा नेसनल हेराल्ड पत्रिका प्रकाशन गर्ने कंग्रेस पार्टीअन्तर्गतको एसोसिएट जर्नल्स लिमिटेड (एजीएल) को ऋण ९० करोडभन्दा बढी पुगेपछि व्यवस्थापनका लागि अर्को कम्पनी योङ इन्डिया लिमिटेड गठन गरिएको थियो । त्यसमा सोनिया र राहुलको ३८–३८ प्रतिशत साझेदारी देखाइएको थियो । पुरानो कम्पनी एसोसिएट जर्नल्स लिमिटेडलाई ९ करोड सेयर दिइएको थियो ।

कांग्रेस सरकारमा रहेका बेला त्यही नयाँ कम्पनीमार्फत एजीएलमाथिको ९० करोडको ऋण मिनाहा गरिएको थियो । 

नयाँ कम्पनीमार्फत गान्धी परिवारले नेसनल हेराल्डको २ हजार करोडको सम्पत्ति हडपेको आरोप छ । सन् १९३८ मा पण्डित जवाहरलाल नेहरूले ५ हजार स्वतन्त्रता सेनानीसँग मिलेर नेसनल हेराल्ड पत्रिकाको प्रकाशन सुरु गरेका थिए । स्वतन्त्रतापछि उक्त पत्रिका कांग्रेसको मुखपत्र बनेको थियो । पत्रिका भने सन् २००८ मा बन्द भएको थियो ।