बिबिसि । उत्तर र दक्षिण कोरियाले बुधबार एकअर्काका समुद्री तट नजिकका जलीय क्षेत्रमा थुप्रै क्षेप्यास्त्र प्रहार गरेका छन् ।
यस घटनाले दुई पक्षबीचको शत्रुता अझै बढेको देखाएको छ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् एकैदिनमा कम्तीमा २३ वटा क्षेप्यास्त्र प्रहार गरेको छ । तीमध्ये एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको सोक्चो सहरदेखि ६० किलोमिटर भन्दा नजिक खसेको थियो ।
यसको प्रत्युत्तरमा सोलले विवादास्पद समुद्री सिमांकन रेखामा लडाकु विमानमार्फत वायुबाट जमिनमा मारहान्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । पछि प्योङयाङले ६ वटा क्षेप्यास्त्र र तोपबाट १ सय वटा गोलाबारुद प्रहार गरेको थियो ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सुरु गरेको ठूलो परिमाणको संयुक्त सैनिक अभ्यासप्रति प्रतिक्रिया जनाउन क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । प्योङयाङले यस सैनिक अभ्यासलाई आक्रमक र उक्साउने खालको भएको बताएको छ ।
मंगलबार उत्तर कोरियाले संयुक्त सैनिक अभ्यास थालेको खण्डमा दुवै मुलकले इतिहासकै सबैभन्दा भयावह मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।
अहिलेसम्म उत्तर कोरियाले यो वर्ष सबैभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरी किर्तिमान राखेको छ ।
दक्षिण कोरिया नजिकको जलीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिँदा सोलको नियन्त्रणमा रहेको युल्लेउंग टापुमा हवाई आक्रमण हुनलागेको संकेत दिने साइरन बजेको थियो । त्यहाँका बासिन्दालाई तत्काल भूमिगत आश्रयस्थलमा जान आह्वान गरिएको थियो ।