भारतमा राष्ट्रपति चयनका लागि जुलाई १८ मा निर्वाचन हुने

न्युजलय २६ जेठ २०७९, बिहिबार ०७:४३ मा प्रकाशित

काठमाडौं । भारतमा १६औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा निर्वाचन गर्ने भएको छ ।


त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीबार जानकारी दिएको छ ।

  

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

 

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार ७०० हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बीत भएको वा कारागारमा छ भने उनीहरूलाई प्रक्रिया पुरा गरेर मतदान गर्न पाइने व्यवस्था छ ।


राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी निर्वाचन तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।


अहिले सन् २०२२ मा राष्ट्रपति निर्वाचनका लागि चार हजार ८०९ ‘इलेक्ट्रोरल’ मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ‘ह्विप’ जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले जानकारी दिए ।