एजेन्सी । रुस र युक्रेनबीच तेस्रो चरणको शान्ति वार्ता पनि निष्कर्षविहिन भएको छ । दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको तर अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले जनाएका छन् ।
दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् । यसअघि गरिएका दुई चरणका वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन । युक्रेन छोड्न चाहने नागरिकको उद्धारका लागि मानवीय करिडोर व्यवस्थापनमा तत्काल काम थाल्न रुस सकारात्मक रहेको समाचार संस्था तासले जनाएको छ । रुसले किएभबाट जानेलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको छ । तर युक्रेनले यो प्रस्तावमा असहमति जनाएको छ । रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् । रुसले युक्रेनका दक्षिणी र पूर्वी सहरमा आक्रमण गरिरहेको छ ।