न्युयोर्क विधानसभा सदस्यमा निर्वाचित भइन् नेपालीमूलकी सराहना श्रेष्ठ

न्युजलय २३ कार्तिक २०७९, बुधबार ०१:३० मा प्रकाशित

काठमाण्डौ ।  न्युयोर्कस्थित एसोपसकी नेपालीमूलकी सराहना श्रेष्ठले रिपब्लिकन प्रतिद्वन्द्वीलाई हराउँदै राज्यसभा सदस्यमा निर्वाचित भएकी छिन्। 

स्टेट बोर्ड अफ इलेक्सनको ‘अनअफिसियल’ नतिजाअनुसार उनले प्याट्रिक शिहानलाई पराजित गरेकी हुन्। 

सराहनाले ३५ हजार ४ सय ९३ र शिहानले २३ हजार १०४ मत ल्याए। योसँगै श्रेष्ठ १०३औँ असेम्बली डिस्ट्रिक्ट सिट जित्न सफल भएकी हुन्। 

गत जुनमा श्रेष्ठले लामो समय विधान सभा सदस्य रहेका केभिन केहिललाई पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा हराउँदै विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी जितेकी थिइन्। 

उनी सन् २०१९ मा अमेरिकी नागरिक भएकी थिइन्। उनी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सहप्रमुख हुन्।