लन्डन । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बिगत २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै नयाँ कीर्तिमान हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३६ लाख ४१ हजार ५२० पुगेको छ ।
नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा सङ्क्रमण दर अत्यधिक रूपमा बढेको हो । सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या पनि उकालो लाग्न थालेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्ने अनुमान गरिएको छ । सङ्क्रमण दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरू नै सङ्क्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा काम गर्ने कर्मचारीहरूमध्ये अहिले १० जनामा एकजना कर्मचारी सङ्क्रमित भएर अनुपस्थित भएको बताइएको छ । करिब एक दर्जन अस्पतालमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको समाचार माध्यममा उल्लेख गरिएको छ । अस्पतालमा माता नभई अन्य क्षेत्रमा समेत कर्मचारीहरू आइसोलेशनमा बस्न थालेपछि कर्मचारीको अभाव हुन् थालेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हालसम्म कोरोनाका कारण एक लाख ४८ हजार ९४१ जनाको ज्यान गइसकेको छ । सङ्क्रमित सङ्ख्यामा वृद्धि भए पनि मृतक सङ्ख्यामा भने अहिलेसम्म खासै वृद्धि भएको छैन । नयाँ भाइरस पहिलाको डेल्टा भाइरस जस्तो सङ्क्रामक नभए पनि तीव्र रूपमा फैलिने भएकाले पनि मृतक सङ्ख्या अहिलेसम्म सामान्य नै रहेको बताइएको छ ।
बेलायतमा हालसम्म ९०.१ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् । यसै गरी दोस्रो मात्र लगाउने पनि ८२.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । तीन करोड ४३ लाख ६३ हजार ९८६ अर्थात् ५९।८ प्रतिशतले बुस्टर डोज लगाइसकेका छन् ।