काठमाडौं । टर्कीको उत्तरपश्चिमी सहर बुर्सामा मंगलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ। आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गरेका छन्।
मध्यरातमा आगलागी सुरु भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्। मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो। प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छजना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए।
ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ। प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो। घटनाबारे अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ।