अमेरिकामा कोरोनाका दुई नयाँ भेरियन्ट भेटिए

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०७:४७ मा प्रकाशित

काठमाडौं । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर संक्रमित गराउने खालको नयाँ दुईवटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको संकेत दिएको हुन सक्ने बताइएको छ ।


बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । गत साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि संक्रमणका घटना बढिरहेको छ ।


दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठानले आइतबार मात्र झन्डै चार हजार जना नयाँ कोरोना संक्रमित भेटिएको जनाएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा पोजिटिभ भेटिएको छ ।


विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजिटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा समुदाय खुला गर्न सकिने सिफारिस गरेको थियो । कोरोनाविरुद्धको खोप लगाइसकेका र ओमिक्रोनको सिकार भइसकेका दुवै खालका मानिसलाई नयाँ भेरियन्टले आक्रमण गरेको खण्डमा बिरामी पर्ने बताइएको छ ।

 

अमेरिकाको कुल जनसंख्याको करिब ६६.२ प्रतिशतले पूर्ण खोप तथा ४५.८ प्रतिशतले बुस्टर डोज लिएका छन् । यस्तै, पाँच वर्षमुनिका बालबालिकालाई अझै खोप वैधानिकता प्रदान गरिएको छैन । यी नयाँ दुई भेरियन्ट बीए २ भन्दा बढी सर्ने खालको देखिएको बताइएको छ ।