सोमाली सुरक्षा फौजको कारवाहीमा २१ अल शबाब लडाकु मारिए

न्युजलय २१ कार्तिक २०७९, सोमबार ०३:४४ मा प्रकाशित

काठमाडौँ । अफ्रिकी मुलुक सोमालियाको राष्ट्रिय जासुसी एवम् सुरक्षा एजेन्सी (निसा) ले मुलुकको मध्य भागमा गरेको कारवाहीमा लडाकु समूह अल शबाबका २१ लडाकु मारिएका छन् ।

कारवाहीमा अरु दर्जनौँ लडाकु घाइते भएका छन् । स्थानीयवासीविरुद्ध हमला गर्ने अल–शबाबको योजनाबारे गुप्तचर निकायले पूर्वसूचना पाएपछि गाल्का सालिमो गाउँमा सुरक्षा कारवाही गरिएको सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सोमाली सेनाले गरेको कारवाहीका क्रममा गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले अल–शबाब लडाकुहरुलाई परास्त गर्न सामूहिक संकल्पको महत्त्वलाई स्वीकार गरेकोमा सोमाली जनताप्रति कृतज्ञता व्यक्त गरेको छ ।