संयुक्त अरब एमिरेट्सका अध्यक्ष तथा अबुधाबीका शासक शेख खलिफाको निधन

न्युजलय ३० बैशाख २०७९, शुक्रबार ०८:४२ मा प्रकाशित

बिबिसि । संसारका सबैभन्दा धनी शासकमध्येका एक संयुक्त अरब एमिरेट्स (यूएई)का अध्यक्ष शेख खलिफा बिन जाएद अल-नाह्यानको ७३ वर्षको उमेरमा निधन भएको छ।


शेख खलिफा सन् २००४ देखि यूएईका अध्यक्ष थिए तर सन् २०१४ मा मस्तिस्काघात भएयता उनको भूमिका धेरैजसो आलङ्कारिक रहँदै आएको थियो।


उनका सौतेनी भाइ मोहमद बिन जाएद अल-नाह्यान अब राज्यको मामिलाका प्रमुख बनेका छन्।


अल-नाह्यान परिवारसँग १५० अर्ब डलर बराबरको सम्पत्ति रहेको विश्वास गरिन्छ। यूएईको अध्यक्षका साथै शेख खलिफा अबुधाबीका शासक पनि थिए।


अबुधाबी यूएईमा आबद्ध सातवटा अमिरातको समूहको तेलधनी राजधानी पनि हो। उनको निधनको खबर सरकारी डब्ल्यूएएम समाचार एजेन्सीले घोषणा गरेको थियो।


अध्यक्षको कार्यालयसम्बन्धी मन्त्रालयले ४० दिन लामो शोकको घोषणा गरेको छ र शुक्रवारदेखि नै झण्डाहरू आधा झुकाइने छन्।


तीन दिनसम्म सरकारी र निजी क्षेत्रहरूमा सबै काम स्थगित हुने छन्।