युक्रेनबाट २ सय ४४ नेपाली सुरक्षित स्थानमा, १५० जना सिमामै रोकिए

न्युजलय १६ फाल्गुण २०७८, सोमबार ०१:०७ मा प्रकाशित

काठमाण्डौ । रूस–युक्रेन द्वन्द्वमा फसेका र त्यसबाट प्रभावित २ सय ४४ नेपाली सुरक्षित स्थानमा पुगेका छन्। 

एनआरएनद्धारा गठित रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति अनुसार युक्रेन छोडेर २४४ जना नेपालीहरू छिमेकका विभिन्न मुलुकमा सुरक्षित पुगेका छन्।

युक्रेनबाट पोल्याण्डमा ६० जना, स्लोभाकियामा १२ , हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन्। यस्तै थप १५४ जना नेपाली यसअघिनै सुरक्षित स्थानमा पुगिसकेका छन्।  

सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्याण्डको सिमामा १ सय ३० जना, स्लोभाकियाको सिमामा १२ जना, रोमानीयाको सिमामा १० जना र माल्डावाको सिमामा २ जना नेपाली दोस्रो मुलुक जान रोकिएका छन्। 

उनीहरूलाई सोमबार साँझसम्ममा सिमा पार गराउने प्रयास भइरहेको एनआरआरएनले जनाएको छ।

गैरआवासीय नेपाली संघ युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका थिए।