काठमाडौं । इथियोपियाको ओरोमिया इलाकास्थित अमहारा समुदायका २०० भन्दा बढी मानिसहरु मारिएका छन्। त्यहाँका एक प्रत्यक्षदर्शीले आफ्नो जीवनकालमै यस्तो नरसंहार पहिलोपटक देख्नुपरेको समाचार संस्था एपीलाई बताएका छन्।
गिम्बी काउन्टीका प्रत्यक्षदर्शी अब्दुल सइद तहिरले आक्रमणमा बिद्रोही समूह ओरोमो लिबरेसन आर्मीको हात रहेको आरोप लगाएका छन्। तर उक्त समूहले आक्रमण नगरेको दाबी गरेको छ। सरकारी सेनाहरु घटनास्थलमा पुगेका छन्। यद्यपि उनीहरु फर्केमा पुन हिंसा भड्कने डर रहेको तहिरले बताए।
इथियोपिया अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको दोस्रो मुलुक हो। यहाँका अमहारा समूदायका मानिसहरु अहिले निकै डरमा रहेको र सक्दो चाँडो नयाँ ठाउँमा बसाई सर्न चाहेको शम्बेल नामक अर्का प्रत्यक्षदर्शीले बताए। अमहारा समुदाय ओरोमिया इलाकामा ३० वर्षअघि पुनर्वास कार्यक्रममार्फत आइपुगेका थिए। शम्बेलले पनि यो आक्रमणमा बिद्रोही समूह ओरोमो लिबरेसन आर्मीकै हात रहेको दाबी गरे।
इथियोपियको सरकारले यो समूहलाई आतंककारी समूह घोषणा गरेको छ। अमहारा समुदाय इथियोपियाको दोस्रो ठुलो जनजाति समुदाय हो।