काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै तेलको मूल्यमा वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ ।
त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ ।
त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार सोमबार खुल्दा २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।
युरोपेली युनियनले वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो ।
यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो ।
यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो ।