काठमाडौं। साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा गरेको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको मृत्यु भएको छ ।
मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ।
हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत मृत्यु भएको समाचारमा उल्लेख छ ।
सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा हुथीले ड्रोन हमला गरलगत्तै गठबन्धन सेनाले सानामा हवाई हमला गरेको हो । अबुधाबीमा भएको ड्रोन हमलामा २ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।
अबुधाबीको मुसफ्फह क्षेत्रको एक तेल भण्डारण केन्द्रका ३ वटा तेल ट्याङ्कर र अबुधाबी विमानस्थल नजिकैको एक निर्माण स्थलमा भएका दुबै हमलाको जिम्मा हुथीले लिएको थियो । लगत्तै यूएईले ड्रोन हमलाको बदला दिने चेतावनी दिएको थियो ।
पछिल्लो समय युएईले यमनमा हुथीसँग लडिरहेका फौजलाई सहयोग गर्दै आएको छ ।