अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने अष्ट्रेलिया सरकारको घोषणा

न्युजलय ५ माघ २०७८, बुधबार ०१:०० मा प्रकाशित

सिड्नी । कोरोना महामारी समस्या समाधान गर्न अष्ट्रेलियाको सरकारले अबको ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय गरेको छ । 

प्रधानमन्त्री स्कट मोरिसनले अन्तराष्ट्रिय विद्यार्थीको भिषा शुल्क फिर्ता दिने निर्णय मन्त्रीपरिषद बैठकले निर्णय गरेको जानकारी दिएका हुन् । 

 उनले भनेका छन्,‘जनवरी १९ देखि ८ हप्ताभित्र अष्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीको अध्यागमन विभागले शुल्क फिर्ता गर्नेछ ।’

 भिषा शुल्क बापत अन्तराष्ट्रिय विद्यार्थीले ६ सय ३० डलर तिर्दै आइरहेका थिए । अबको दुई महिनाभित्र अष्ट्रेलिया आउने विद्यार्थीले उक्त रकम फिर्ता पाउनेछन् । 

त्यस्तै विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने नियम थियो । त्यसलाई पनि सरकारले केही समयका लागि हटाएको बताइसकेको छ ।