जी–२० सम्मेलन छाडेर हिडे रुसी प्रतिनिधि, लगत्तै युक्रेनमा आक्रमण

न्युजलय ३० कार्तिक २०७९, बुधबार ०८:२२ मा प्रकाशित

एजेन्सी । इन्डोनेसियाको बालीमा चलिरहेको जी–२० सम्मेलनमा सहभागी विश्वका शीर्ष नेताहरूले युक्रेनमा रुसी आक्रमणबारे निन्दा गरिरहँदा मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणबाट किएभमा एक जनाको ज्यान गएको छ भने कम्तीमा दुईवटा आवासीय भवनमा क्षति पुगेको छ । रुसले युक्रेनका अरु केहि सहरमा समेत क्षेप्यास्त्र आक्रमण गरेको छ ।

जी–२० सम्मेलनमा भने धेरैजसो देशले युद्धलाई लिएर रुसको निन्दा गरेका छन् । पश्चिमा देशहरूले ‘राजनीतिकरण’ को प्रयास गरेकोभन्दै रुसी प्रतिनिधिले भने रुष्ठ बनेर सम्मेलन छाडेका थिए ।

युक्रेन युद्धमा भएको क्षतिको खर्च रुसले तिर्नुपर्ने अन्तर्राष्ट्रिय आह्वानलाई मस्कोले अस्वीकार गरेको छ ।