काँकरभिट्टामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

न्युजलय ५ जेठ २०८३, मङ्गलबार ०३:५४ मा प्रकाशित

झापा । पूर्वीनाका काँकरभिट्टामा एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्र्वाटरका प्रमुख अम्बिकाप्रसाद जोशीले सोमबार साँझ भारतको कोलकाता घर बताउने ३९ वर्षीय परम पाठकलाई काँकरभिट्टा भन्सारको चेकपोस्टमा जाँच गर्दा उक्त सुनसहित २० हजार अमेरिकी डलर र ८५ हजार ४१९ भारतीय रुपैयाँ समेत बरामद गरिएको बताए ।

पक्राउ परेका भारतीय नागरिकबाट सवारीचालक अनुमति, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्डडिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको जनाइएको छ । 

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र आजै झापा जिल्ला अदालतमा पेस गरिने बताइएको छ ।

पाठक भारतको पानीटङ्कीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए ।