हङकङमा तुफानको चेतावनी

न्युजलय १६ कार्तिक २०७९, बुधबार १०:४४ मा प्रकाशित

काठमाण्डौ । हङकङमा बुधबार सबै शिक्षालय बन्द गरिएको छ। नम्बर ८ तुफान आउन सक्ने चेतावनीसँगै सबै शिक्षालय बन्द गरिएको हो।

यो तुफान दिउँसो १२ देखि २ बजेभित्र आउन सक्ने अनुमान गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङबाट २५० किलोमिटर दक्षिणपूर्वबाट सामुद्रिक आँधी गुआङडोङतर्फ अघि बढिरहेको हो।

यद्यपि पछिल्लो समय आँधीको तीव्रता भने घटिरहेको मौसमविद्हरुले बताएका छन्। कहिलेसम्ममा यो आँधी साम्य हुन्छ भन्नेबारे अझै निश्चित हुन नसकेको उनीहरुको भनाइ छ। हङकङको मौसम विभागले जारी गर्ने यो तेस्रो ठूलो चेतावनी हो। 

यद्यपि बुधबार र बिहीबारको लागि तय भएको ग्लोबल फाइनान्सियल लिडर्सको कार्यक्रम भने नरोकिने आयोजकले बताएका छन्।