जापानमा चक्कु प्रहारबाट एक नेपालिको हत्या

न्युजलय ३१ कार्तिक २०७९, बिहिबार ०८:५७ मा प्रकाशित

काठमाडौं । जापानमा एक नेपालीको चक्कु प्रहार गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ । 

 

समाचार अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएको छ । स्थानीय प्रहरीले अभियुक्तको खोजतलास तीव्र बनाएको छ । बुधबार राति करिब ११ः३० बजे इसेसाकी सहरको ओटाचोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्को एक जनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । 


प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याइए पनि  मृत्यु भएको थियो । प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुङको गलकोट रहेको बताइएको छ । 


मृतक अधिकारीको श्रीमान् जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफन्तले बताएका छन् । प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि आवश्यक सहयोग पुर्‍याइदिन मृतकको परिवारलाई आग्रह गरेको छ ।