आसाममा बाढीका कारण जनजीवन प्रभावित, ३४ जनाको मृत्यु

न्युजलय ७ असार २०७९, मङ्गलबार ०८:५४ मा प्रकाशित

काठमाडौं । भारतको आसाममा बाढीका कारण जनजीवन प्रभावित भएको छ । आसाममा कम्तीमा ३४ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ ।  


त्यहाँका ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएका बीबीसी हिन्दीले जनाएको छ । भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।


आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो । गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो । आसाम राज्यमा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ । त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ ।