बुर्किना फासोमा हिंसात्मक आक्रमण हुँदा १३ जनाको मृत्यु

न्युजलय २३ पुस २०७८, शुक्रबार ०७:२४ मा प्रकाशित

औगाडौगौ । बुर्किना फासोका विभिन्न ठाउँमा भएका घटनामा परी कम्तीमा १३ नागरिक मारिएका छन् । तीमध्ये ११ जनाको अन्कौना गाउँमा मृत्यु भएको हो । बुधबार भएको सो आक्रमणमा परी अर्का एक जना घाइते भएका छन् । मध्य-उत्तर क्षेत्रका गभर्नर कासिमिर सेगुएडाद्वारा जारी वक्तव्यमा हिंसावादी समूहले उनीहरूको हत्या गरेको आरोप लगाइएको छ ।


ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका हतियारधारी समूहले आक्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।


त्यसैगरी अर्को ठाउँमा भएको घटनामा परी जिहादी विरोधी दुई अभियन्ता मारिएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको नोएका भन्ने ठाउँमा बुधबार घटना भएको हो । घटनामा मारिएका दुवै जना सेनासँग मिलेर काम गर्ने नागरिक स्वयं सेवक थिए ।


बुर्किना फासोमा सन् २०१५ देखि सरकारी पक्ष र जिहादी विद्रोहीहरूबीचमा संघर्ष चल्दै आएको छ । द्वन्द्वका क्रममा अहिलेसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ । गत नोभेम्बर ३० सम्मको विवरण अनुसार द्वन्द्वका कारण १५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये दुई तिहाइ बालबालिका रहेका छन् ।


विद्रोहीसँग भिड्नका लागि सरकारी सुरक्षाकर्मीहरुलाई श्रोत साधनको अपर्याप्तता रहेको पनि बताउने गरिएको छ ।