गुजरातमा भाजपा, हिमाचलमा कंग्रेस, आम आदमीले ठाउँ पाएन

न्युजलय २३ मङ्सिर २०७९, शुक्रबार ०७:१९ मा प्रकाशित

नयाँदिल्ली । गुजरातमा यो पटक पनि भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ । चुनावी परिणामअनुसार भाजपा गुजरातमा हालसम्म सबैभन्दा बढी सिट जित्ने दल पनि बनेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहप्रदेशमा विधानसभाका १ सय ८२ मध्ये भाजपा एक्लैले १ सय ५६ सिट जितेको छ । कंग्रेस १७ र आम आदमी पार्टी (आप) ५ सिटमा सीमित भएका छन् । अघिल्लो पटक ७७ सिट जितेको कंग्रेसले यसपटक ६० सिट गुमाएको छ । हारको जिम्मेवारी स्विकार्दै कंग्रेस प्रदेश अध्यक्ष रघु शर्माले पदबाट राजीनामा दिएका छन् ।

२०१७ को चुनावमा ९९ सिट जितेको भाजपाले अघिल्लो पटकभन्दा ५७ सिट बढी जितेको छ । भाजपाले प्रधानमन्त्री मोदीकै बलमा गुजरातमा चुनाव लडेको थियो । चुनावी प्रचारप्रसारमा ‘रोड शो’ देखि अनेकौं सभाहरूको नेतृत्व मोदीले गर्दै आएका थिए । भाजपाले गुजरातमा लगातार सातौं पटक सरकार बनाउने भएको छ ।