रुसमा सैनिक विमान दुर्घटना, ४ जनाको मृत्यु

न्युजलय १० असार २०७९, शुक्रबार ०३:३५ मा प्रकाशित

काठमाडौँ । रुसमा भएको सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो ।


परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ ।


जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । त्यसैक्रममा विमान दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका हुन् ।


सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरुलाई अस्पताल पुर्‍याइएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।