काठमाडौँ । भुटानले १८ वर्ष पुगेका नागरिकलाई अनिवार्य आधारभूत सैनिक तालिम दिने भएको छ । भुटानको दुवै सदनले राष्ट्रिय सेवा (ग्याल्सुङ) सम्बन्धी ऐनलाई सर्वसम्मत रुपमा पारित गरेसँगै १८ वर्ष उमेर पुगेका वा १२ कक्षा अध्ययन पूरा गरेका नागरिकले ३ महिने तालिम लिनुपर्ने भएको हो ।
आधारभूत सैनिक तालिमपछि घर निर्माण प्रविधि, कम्प्युटिङ र कृषिमा सीप विकास गर्ने उद्यमको विषयमा तालिम दिइने ग्याल्सुङको वेबसाइटमा लेखिएको छ ।
भुटानी राजा जिग्मे खेशर वाङचुकले २०१९ डिसेम्ब १७ मा एक वर्षे राष्ट्रिय सेवाको घोषणा गरेका थिए । कार्यक्रमले भुटानी युवाहरूको आर्थिक तथा क्षेत्रीय पृष्ठभूमिलाई वास्ता नगरी भुटानका सबैलाई एकै स्थानमा ल्याउने र अनुभव आदानप्रदान गराउने एउटा अनुष्ठानको रुपमा रहने सो कार्यक्रमले जनाएको छ ।
२०२४ देखि सुरु हुने कार्यक्रममा प्रत्येक वर्ष करिब १३ हजारले तालिम राष्ट्रिय सेवामा सहभागी हुने अनुमान भुटानी अधिकारीहरूले गरेका छन् । सुरुवातमा यसै वर्षबाट तालिम दिने योजना भए पनि कोभिड १९ को कारण पछि धकेलिएको भुटानी सञ्चार मध्यमहरूले जनाएका छन् ।
यस्तो तालिम भुटानको ५ स्थानमा एकै समयमा सञ्चालन हुने बताइएको छ । प्रत्येक सेन्टरमा करिब २६ सय तालिमे, ३ सय स्वयंसेवक र ३२ अधिकारी हुने रहने जनाएको छ ।