बेलायत । बेलायतमा ओमिक्रोमको कारण पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ ।
पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ । योपटक नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणका कारण बेलायतमा दैनिक संक्रमित संख्या दुई लाख २० हजार नाघेको थियो, जुन महामारीयताकै सबैभन्दा बढी संक्रमित हो ।
बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको सरकारी तथ्यांकमा उल्लेख छ । यसैगरी ७९३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी तीन करोड ५९ लाख ५३ हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।