नयाँ दिल्ली । दिल्लीमा कोभिड १९ का संक्रमित बढ्दै गएपछि प्रतिबन्धात्म नियममा थप कडाइ गरिने भएको छ। दिल्लीमा सप्ताहन्त अर्थात् शनिबार र आइतबार कर्फ्यू लगाइने भएको छ।
शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ। यसबाहेक, दिल्ली सरकारले सरकारी कार्यालय बन्द गर्ने फैसला समेत गरेको भारतीय समाचार माध्यमले जनाएका छन्। यस क्रममा सरकारी कर्मचारीले घरबाटै वा अनलाइनमा काम गर्नुपर्ने भएको छ।
त्यस्तै, दिल्लीमा शतप्रतिशत क्षमतामा मेट्रो र बस सञ्चालन गर्ने निर्णय समेत भएको छ। बस स्टेशनमा यात्रुको भीड नहोस् भनेर पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय हो। तर मेट्रो र बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ।
यसअघि त्यहाँ कोभिड १९ को बढ्दो संक्रमणबीच मेट्रो र बसमा यात्रा गर्नेको संख्या सीमित पारिएको थियो।
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्था नआएको र यो भेरियन्टका लक्षण सामान्य भएकाले योभन्दा कडा प्रतिबन्ध लगाउन आवश्यक नदेखिको बताए।
तर शनिबार र आइतबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत सिसोदियाले आग्रह गरेका छन्।