नयाँदिल्ली । तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी उमेर समूहका जटिल रोगीलाई खोपको बुस्टर डोज दिन सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।
पछिल्ला दिनहरूमा भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको फैलावट बढिरहेको अधिकारीहरूले जनाएका छन् । विभिन्न देशमा गरिएका अध्ययनमा खोपको बुस्टर डोज लगाएकाहरूमा ओमिक्रोन संक्रमणले न्यून असर पुर्याउने देखिएको छ ।
कोभिडका भेरिएन्टमध्ये सबैभन्दा बढी संक्रामक ओमिक्रोन गत नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको थियो । त्यसयता यो विश्वका सयभन्दा बढी देशमा पुष्टि भइसकेको छ । जसका कारण अधिकांश देशले बुस्टर डोज अभियान सुरु गरिसकेका छन् ।
सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको भारतले आफ्नै देशमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन प्रयोगमा ल्याएका छन् । यसअघि भारतले गत साता १५ देखि १८ वर्षका किशोरकिशोरीलाई खोप दिएको थियो ।
भारतीय स्वास्थ्य मन्त्रालयले पछिल्ला दिनहरूमा संक्रमित भएका मध्ये ५ देखि १० प्रतिशत मात्र अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा पुगेका जनाएको छ । गत वर्ष दोस्रो लहरका क्रममा २० देखि २३ प्रतिशत अस्पताल भर्ना भएका थिए ।