पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट डिस्चार्ज

न्युजलय २० कार्तिक २०७९, आइतबार ०९:१६ मा प्रकाशित

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनपछि आज आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । 


गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ । पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे । 


पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उनी चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते भएका थिए । आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ । सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् । 


प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पु¥याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् । खानले भने घटनामा दुई जना बन्दूकधारीको संलग्नता रहेको दाबी गरेका छन् । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको संलग्नता रहेको दाबी पनि गरेका थिए ।