इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ बस्ने ३२ वर्षीय जयकृष्ण यादव गम्भीर घाइते भएका थिए।
उनको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव हाल कोशी अस्पतालमै राखिएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सितागञ्जको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।