आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले छिटै नै भोकमरी सामना गनुपर्ने

न्युजलय २४ चैत २०७८, बिहिबार ०७:२८ मा प्रकाशित

काठमाडौं । विभिन्न क्षेत्रमा आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा छिटै नै भोकमरीको सामना गर्नुपर्ने राजनीतिज्ञले जनाएका छन् ।


श्रीलंकाका एक शीर्ष राजनीतिज्ञ तथा सांसद महिन्द्रा यापा अभेबार्दनाले अहिलेको अवस्था सुरुआतमात्रै भएको र देशले चाँडै नै भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्। 


करिब २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकट चुलिएसँगै खाद्यान्नको अभाव देखिएको अभेबार्दनाले बताएका छन्। 


श्रीलंकाको मुद्रा विश्वको सबैभन्दा खराब मुद्राको सूचीमा परेपछि बुधबार श्रीलंकाको आर्थिक संकट थप गहिरिएको छ। सरकारी डलर बोन्डको व्यापार निम्न बिन्दुमा झरेको छ भने शेयर बजार पनि २ प्रतिशतको गिरावट आएको छ। 


विगत केही महिनादेखि श्रीलंकाले विभिन्न क्षेत्रमा आर्थिक संकटको सामना गरिरहनुपरेको छ। कोरोना महामारी, बढ्दो वैदेशिक ऋण र राष्ट्रपति गोटाभाया राजापक्षेको असक्षमताले श्रीलंकामा महँगी तथा गहिरो आर्थिक संकटको खाडलमा धकेलिएको छ। 


श्रीलंकाको वैदेशिक मुद्राको ढुकुटी रित्तिएको छ। परिणामस्वरुप देशमा ग्यास, तेल, खाद्यान्न र विद्युतको चरम अभाव सिर्जना भएको छ। 


यसैबीच भारत सरकारले श्रीलंकाको सहयोगका लागि ७६ हजार टन तेल पठाएको छ। भारतले अहिलेसम्म श्रीलंकालाई २ लाख ७० हजार टन तेल सहयोग गरिसकेको छ।