युक्रेनमा भारतीय विद्यार्थीमाथि कुटपिट

न्युजलय १६ फाल्गुण २०७८, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणका कारण त्यहाँ रहेका कतिपय विद्यार्थीहरू फसेका छन् । 

मेडिकल पढ्ने विद्यार्थीहरूले आफूलाई पोल्यान्ड युक्रेन बोर्डरका कैयौं चेकपोइन्टमा कुटपिट गरिएको बताएका छन् । 

आफूलाई चिसो कठ्यांग्रिदो जाडोमा कैदीलाई जस्तो राखिएको खाना, पानी र न्यानो कोठा समेत उपलब्ध नगराइएको उनीहरूले बताए । बोर्डर गार्ड्सले भारतीय विद्यार्थीहरूलाई गालीगलौज गरेर कुटपिट समेत गरेको बताइएको छ ।  

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनमाथि रुसको आक्रमणविरुद्ध निन्दा प्रस्तावमा भएको मतदानमा भारत अनुपस्थित भएपछि युक्रेनीहरू भारतीयसँग रिसाएका हुन् । 

भारतीय विद्यार्थीहरूले शेयर गरेको भिडियोमा युक्रेनी सैनिकहरूले हावामा गोली चलाएको र विद्यार्थीहरूलाई धकेलेको देखिन्छ । 

युक्रेनका सर्वसाधारणले पनि आफूहरूसँग दुर्व्यवहार गरेको भारतीय विद्यार्थीहरूको भनाइ छ । हजारौैं भारतीय विद्यार्थीहरू अझै पनि पोल्यान्ड सीमामा अड्केका छन् । उनीहरू ट्रेन, कार, बस वा पैदलै हिँडेर सीमामा पुगेका हुन् ।

भारत सरकारले युक्रेनमा फसेका हजारौं विद्यार्थीलाई उद्धार गर्न सकेको छैन ।