टर्कीको नाम फेरेर टर्किये राखियो

न्युजलय १९ जेठ २०७९, बिहिबार ०७:२३ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।


संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताए । पत्र प्राप्त हुने बित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिकको भनाइ छ ।


गत मङ्गलबार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिएका थिए ।


टर्कीका राष्ट्रपति रेचप तैयप एर्दोआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किये नाम प्रयोग गर्न भनेका थिए । उनले टर्कीयेले टर्कीका नागरिकको संस्कृति, सभ्यता र मान्यतालई राम्रोसँग प्रतिनिधित्व गर्ने बताएका थिए ।


यसका साथै एर्दोआनले आफ्नो देशका कम्पनीबाट निर्यात हुने वस्तुमा पनि मेड इन टर्किये लेख्न भनेका थिए ।