विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा सईको मृत्यु

न्युजलय २७ फाल्गुण २०८२, बुधबार ०२:४४ मा प्रकाशित

विराटनगर । बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई मीनबहादुर बोहोराको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत ४० वर्षीय बोहोराको दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको हो।

विराटनगर महानगरपालिका–४ को राजवंशी चोकमा बिहान करिब ७ः३५ बजेतिर दुर्घटना भएको थियो।

भित्री सडक हुँदै राजवंशी चोकबाट नोबेल शिक्षण अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पेशलकुमार बस्नेत घाइते भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका–६ निवासी ४१ वर्षीय बस्नेतको अवस्था मध्यम रहेको र नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।