बीबीसी । उत्तर कोरियामा पहिलो कोरोना संक्रमणको घोषणा गर्दै देशव्यापी रुपमा कडा लकडाउनको निर्देशन दिइएको छ । सरकारी मिडियाले यसबारे खबर गर्दै राजधानी प्योङयोङमा ओमिक्रोन प्रकोप फैलिएको जनाएको छ ।
केसीएनएका अनुसार लिडर किम जोङ उनले कोरोना प्रकोप पूर्ण निर्मुल पार्ने प्रतिज्ञा गरेका छन् । क्वारेन्टिन लगायत सुरक्षाका कडा मापदण्ड अपनाउँदा समेत भित्रिएको कोरोना प्रकोप देशका लागि गम्भीर राष्ट्रिय आपतकालको अवस्था भएको पनि यसमा उल्लेख गरिएको छ ।
यता विश्वविद्हरुले चाहिँ उत्तर कोरियामा भाइरसको उपस्थिति धेरै अगाडिदेखि नै रहेको अुनमान गर्दै आएका छन् । गत वर्ष जुनमा किमले कोभिड सम्बन्धी गम्भीर अपराध पश्चात् केही अधिकारीहरुलाई कारबाही गरेको केसीएनएले रिपोर्ट गरेको थियो ।
यसपछि सेप्टेम्बरमा भएको राष्ट्रिय सैन्य परेडमा पनि सेनाहरु हजमत सुट र मास्क लगाएको अवस्थामा देखा परेका थिए । उत्तर कोरियाको सिमाना चीन र दक्षिण कोरियासँग जोडिएको छ र दुवै देशले तिव्र संक्रमणको सामना गरिसकेका छन् ।
यस्तोमा २ करोड ५० लाख जनसङ्ख्या रहेको उत्तर कोरियाका जनता कोभिड संक्रमणप्रति अति संवेदनशील रहेकामा अन्तर्राष्ट्रिय संगठनहरुले चिन्ता जनाएका छन् ।
यसले हालसम्म कुनै कोभिड विरुद्धको खोप कार्यक्रममा सहभागीता जनाएको छैन र बाहिरबाट सहयोगका रुपमा आएको खोप समेत भित्र्याउन नमान्दा समस्याले गम्भीर रुप लिन सक्नेबारे चिन्ता जनाइएको छ । यसैगरी त्यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थाबारे पनि विशेष चासो दिइएको छ ।
अहिलेसम्म उत्तर कोरियाले कोभिड संक्रमणबाट बच्न केबल सिमाना बन्द गर्ने उपाय अपनाउँदै आएको छ । २०२० देखि नै देशका सिमानामा अत्याधिक कडाइ गरिएको छ । तर यसैका कारण खाद्यान्न आयातमा पनि रोकावट आएपछि देशव्यापी अभाव सुरु भएको हो भने अर्थतन्त्रमा गम्भीर प्रभाव परिरहेको छ ।
बिहीबारको समाचारमा केसीएनएले भाइरसलाई नियन्त्रण गर्न किमले अधिकतम आपतकालीन उपाय लगाउन र स्थानीय लकडाउनको निर्देशन दिएको जनाएको छ । साथै कार्यस्थलमा भेला हुन पनि निषेध गरिएको छ । यसमा ओमिक्रोन भेरियेन्टबाट संक्रमित पहिलो बिरामी चार दिन अगाडि फेला पारिएको भनिएको छ ।
यो खबरपछि दक्षिण कोरिया सरकारले कुनै मानवीय सहायताको आवश्यकता परेमा आफूहरु सहयोग गर्न तयार रहेको प्रस्ताव गरेको छ तर प्योङयोङबाट कुनै प्रतिक्रिया आएको छैन ।