सगरमाथा आधार शिविरमा माउन्टेन गाइडको मृत्यु

न्युजलय २७ बैशाख २०८३, आइतबार १२:४६ मा प्रकाशित

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आइसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को बिचमा ३५ वर्षीय विजय घिमिरे मृत अवस्थामा भेटिएका हुन् ।

पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारीअनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका थिए । 

शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाइडहरूले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेका थिए । खबर पाएलगत्तै ट्याग नेपालका टेण्डी शेर्पाले क्याम्पबाट आठ जना शेर्पा गाइड रेस्क्युका लागि घटनास्थल पठाएका थिए ।

तत्काल हेलिकोप्टर उद्दारका लागि समन्वय गरी लुक्लाबाट अल्टिच्युट एयर प्रालिको हेलिकोप्टरमार्फत घिमिरेको उद्दार गरिएको थियो । घिमिरेको शव लुक्ला पुर्‍याइएको विभागको फिल्ड अफिसले जनाएको छ ।