काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा कार्यरत एक नेपाली मृत्युदण्डको सजाय हुनबाट जोगिएका छन्। धनुषाको गोविन्दपुरका सुरजदेव साह तेलीलाई मृत्युदण्ड नदिइने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
मलेसियाको अदालतले सुरजदेवलाई सुनाएको मृत्युदण्डको सजाय परिवर्तन गरेको हो। अब उनलाई १२ वर्ष कैदको सजाय सुनाइएको दूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
उनलाई सन् २०१६ डिसेम्बरमा कर्तव्य ज्यानको कसुरमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो। ईपो उच्च अदालतले २०२० अगस्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो।
दूतावासका अनुसार मृत्युदण्डको फैसलाविरुद्ध उनको तर्फबाट पुनरावेदन गरिएको थियो। पुत्रजयास्थित पुनरावेदन अदालतले बिहीबार १२ वर्ष कैदको सजाय कायम गरेको हो।
फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) मा परिवर्तन गर्दै सजाय तोकिएको हो। उनले ६ वर्ष कैद भुक्तान गरिसकेको र अब बाँकी कैद सजाय भुक्तान गरेर नेपाल फर्किने जनाइएको छ।