आफ्नै दुई जना बच्चालाई मारेर सुटकेसमा फालेको आरोपमा एक महिला पक्राउ

न्युजलय ३० भदौ २०७९, बिहिबार ०८:३५ मा प्रकाशित

बिबिसि । अगस्ट महिनाको सुरुमा न्युजिल्यान्डको अकल्यान्डमा अनलाइनमार्फत किनेको सुटकेसमा एउटा परिवारले दुई बच्चाको लास फेला पार्यो।


७ र १० वर्षका ती बच्चाको लास केही वर्षदेखि थन्क्याएर राखिएको प्रहरीको अनुमान थियो। 


यो घटनाले न्युजिल्यान्डमा हलचल मच्चायो। र, बच्चाका हत्याराको खोजी सुरु भयो। 


सोही घटनाको आरोपित महिलालाई पक्राउ गरिएको दक्षिण कोरियाली प्रहरीले जनाएको छ। आफ्नै दुई सन्तानको हत्या गरेर ती महिला दक्षिण कोरिया भागेको न्युजिल्यान्ड प्रहरीको भनाइ छ।


न्युजिल्यान्ड प्रहरीले दक्षिण कोरियाबाट ती महिलाको सुपुर्दगीका लागि आवेदन दिएको थियो। 


दक्षिण कोरियाली अधिकारीहरुसँग मिलेर ती महिलालाई समातिएको अकल्यान्ड प्रहरीले जनाएको छ।


कोरियाली मूलकी ४२ वर्षीया ती महिला न्युजिल्यान्डको नागरिक हुन्। आफ्ना बच्चाहरुको मृत्युपछि उनी २०१८ मा त्यहाँबाट भागेको बताइएको छ।


उनीविरुद्ध इन्टरपोलले पक्राउ पुर्जी जारी गरेको थियो। बिहीबार मध्यरातमा दक्षिण कोरियाका उल्सान सहरमा उनलाई पक्राउ गरिएको हो।


ती महिलाको परिवार केही वर्षदेखि अकल्यान्डमा बसिरहेको थियो। ती बच्चाहरुका बुबाको क्यान्सरको कारण मृत्यु भएको थियो। तर, बच्चाका हजुरबाआमा अझै न्युजिल्यान्डमै रहेको बताइएको छ।


प्रहरीले सुपुर्दगीपछि ती महिलालाई जमानत नदिन आवेदन दिएको छ।