चिनियाँ सभामुख ली आज नेपाल आउँदै

न्युजलय २७ भदौ २०७९, सोमबार ०७:२२ मा प्रकाशित

काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक भ्रमणका लागि आज (सोमबार) नेपाल आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमणमा आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्ने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छ ।  

 

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो नम्बरमा छन् ।