यस्तो छ अष्ट्रेलियाको जनगणना रिपोर्ट : सवा लाख नेपाली बसेको तथ्यांक सार्वजनिक

न्युजलय ३२ असार २०७९, शनिवार ०९:३४ मा प्रकाशित

सिड्नी । अष्ट्रेलियामा झण्डै सवा लाख नेपालीहरु बसेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाअनुसार नेपाल उद्‍गम भएर अष्ट्रेलियामा बसोबास गर्नेको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ।

यस्तै घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ। त्यसमध्ये अधिकांश न्यु साउथ वेल्समा छन्। यहाँ ६८ हजार १ सय ४८ जना नेपाली रहेको तथ्याङ्क छ।

अष्ट्रेलियामा ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासीहरुको बसोबास रहेको तथ्याङ्क सार्वजनिक भएको छ। पछिल्लो ५० वर्षमा देशको जनसंख्या दोब्बर भएको छ। 

अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये भारतीयहरू सबैभन्दा बढी छन्। सन् २०१६ को जनगणना र २०२१ को जनगणनाको बीचमा भारतमा जन्मेका करिब २ लाख २० हजार हजार मानिसहरू अष्ट्रेलियाबासी भएका छन्। 

अष्ट्रेलियामा धर्म नमान्नेहरुको संख्या सबैभन्दा धेरै अर्थात ३८.९ प्रतिशत देखिएको छ। त्यस्तै क्याथोलिक २० प्रतिशत, एङलिक्यान ९.८, इस्लाम ३.२ र हिन्दु २.७ प्रतिशत रहेको छ।