पेरिस विमानस्थलमा हडताल, दर्जनौं उडान रद्द

न्युजलय १७ असार २०७९, शुक्रबार ०९:३९ मा प्रकाशित

पेरिस । बिहीबारदेखि फ्रान्सको राजधानी पेरिसस्थित चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुको हडतालका कारण दर्जनौं विमानहरु रद्द भएका छन् । युरोपकै अति व्यस्त चार्ल्स द गोल विमानस्थलका कर्मचारीहरुले हडताल गरेपछि बिहीबार सम्पूर्ण उडानको १० प्रतिशत रद्द गरिएको थियो ।

 

शुक्रबार पनि कर्मचारीहरूले हडताल जारी राखेका छन् र अझ धेरै विमान रद्द हुने आकलन गरिएको फ्रान्सको बीएफएम टीभीले जनाएको छ । विमानस्थल अपरेटर एडीपीका प्रवक्ताले विमानस्थल जाने सडक यातायातसमेत अवरुद्ध भइरहेको बताए ।

 

एयरलाइन्स ट्राफिक महामारीपूर्वको स्तरतिर फर्किंदै गर्दा कट्टरपन्थी मजदुर युनियन सीजीटी र अन्य कर्मचारी युनियनहरूले ज्याला, तलबवृद्धि अन्य र थप सुविधाको माग गर्दै हडताल गरेका हुन् ।


फ्रान्समा जुन महिनामा मुद्रास्फीति ६.५ प्रतिशतमा पुगेर गम्भीर आर्थिक समस्या भोगिरहेकै बेला सीजीटीले सबै कर्मचारीहरूको प्रतिमहिना ३०० युरो न्यूनतम तलबवृद्धिको माग गरिरहेको छ ।


कोभिड–१९ महामारीको बेलामा ठूलो मात्रामा कर्मचारी कटौती गरेपछि एयरलाइन्सहरूले कर्मचारी भर्ना गर्न संघर्ष गरिरहेका बेला कामदारहरूले विभिन्न माग राखेका हुन् ।


फ्रान्सेली उड्डयन प्राधिकरण डीजीएसीले एयरलाइन्सहरूलाई शुक्रबार स्थानीय समय ७ बजे र दिउँसो २ बजेको बीचमा रहेका ६ मध्ये एउटा उडान रद्द गर्न भनेको थियो । डीपीले शुक्रबार साँझसम्म लगभग १० प्रतिशत उडानहरू रद्द हुने आकलन गरेको छ ।


सीजीटीका अनुसार जुन ९ मा पेरिसमा भएको पहिलो एयरपोर्ट हडतालमा एक हजार पाँच सय विमान कर्मचारी संलग्न थिए । तिनको हडतालकै कारण चार्ल्स द गोल विमानस्थलका २० प्रतिशत उडान रद्द गर्नुपरेको थियो ।


व्यवस्थापन दुई देखि तीन प्रतिशत तलब बढाउन राजी भए पनि कर्मचारीहरुले भने १५ देखि २० प्रतिशत माग गरेको चार्ल्स द गोल अन्तर्राष्ट्रिय एयरपोर्टका ग्राउन्ड ह्यान्डलिङ एजेन्ट लोरिस फोरम्यानले मेडियाहरुलाई बताएका छन् ।


कर्मचारी कटौतीले गर्दा थोरै कर्मचारीले अत्यधिक बढी समय काम गर्नु परेकाले कर्मचारीहरु डिप्रेसनको बिदामा बस्नु परेको र त्यसले गर्दा थोरै कर्मचारीले अझ धेरै तनाव भोग्नुपरेको पनि उनले उल्लेख गरेका छन् ।