सुडानमा जातीय दङ्गाका क्रममा ३१ जनाको मृत्यु

न्युजलय ३२ असार २०७९, शनिवार ०१:१६ मा प्रकाशित

काठमाडौं । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्।

झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्रणमा लिइसकेका छन भने केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेका छन् ।  

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु लगाइएको क्षेत्रमा हिँड्डुल गर्न, भिडभाड गर्न निषेध गरिएको छ । 

स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका थिए ।  

अफ्रिकी मुलुक सुडानको पूर्वी क्षेत्रमा पर्ने ब्लु नाइल प्रदेश इथियोपियाको सिमा क्षेत्र हो । सुडानमा लामो समयदेखि विभिन्न आन्तरिक द्वन्द्व तथा राजनीतिक सङ्कट छ ।