श्रीलंकाद्वारा ३०० वस्तु आयातमा प्रतिबन्ध

न्युजलय ९ भदौ २०७९, बिहिबार ०८:२६ मा प्रकाशित

कोलम्बो । श्रीलंकाले आयात प्रतिबन्ध कडा पारेको छ । श्रीलंका सरकारले थप तीन सयभन्दा बढी वस्तुमा आयात प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आर्थिक संकटसँगै सुरु भएको देशव्यापी आन्दोलनपछि तत्कालीन राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेका थिए । 

त्यसपछि राष्ट्रपतिमा निर्वाचित रनिल विक्रमासिंघेले विदेशबाट श्रीलंका आयात हुने उपकरण र खेल सामग्रीलगायतमा प्रतिबन्ध लगाएका थिए । विदेशी मुद्रा अभावका कारण श्रीलंकाले पछिल्लो समय इन्धन तथा कतिपय अत्यावश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्रा अभाव कम हुँदै गएको घोषणा गरेको थियो । तर श्रीलंकाको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्रा अभावका कारण श्रीलंकाले अप्रिलमा ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋणको भारीे तिर्न असफल भएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले श्रीलंकाली अधिकारीसँग कर्जा सहयोगका लागि वार्ता जारी रहेको जनाएको छ ।