काठमाडौं । उत्तरी इरानमा मङ्गलबार राजमार्गमा बस पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको इरानी विद्यार्थी समाचार एजेन्सीले जनाएको छ।
सो दुर्घटनामा तीन यात्रु, (दुई महिला र एक पुरुषको) गम्भीर चोटका कारण मृत्यु भएको छ भने अन्य १० पुरुष र छ महिला घाइते भएको जञ्जन प्रान्तका ट्राफिक प्रहरी कमाण्डर मोहम्मद अली अजिमीले आईएसएनएलाई जानकारी दिएका छन्।
बस उत्तरपश्चिमी सीमावर्ती शहर बजारगानबाट राजधानी तेहरानतर्फ जाँदै गर्दा जान्जान–ताब्रिज राजमार्गमा सो गाडी पल्टिएको आजीमीले बताएका छन्।
चालकको थकान र निद्राले गर्दा सो दुर्घटना भएको बताइएको छ। तबनाक समाचार एजेन्सीका अनुसार बसमा टर्कीको पहाडबाट फर्केका इरानी पर्वतारोहीहरू सवार थिए।