भारतमा मंकीपक्सबाट पहिलो मृत्यु

न्युजलय १६ साउन २०७९, सोमबार ०७:५० मा प्रकाशित

काठमाडौँ । भारतमा मंकीपक्सबाट पहिलो मृत्युको आधिकारिक पुष्टि भएको छ । केरला राज्यकी स्वास्थ्य मन्त्री वीणा जर्जले भारतमा मंकीपक्सका कारण पहिलो मृत्यु भएको पुष्टि गरेकी हुन् । 

 

मंकीपक्सबाट मृत्यु हुनेमा २२ बर्षीय युवक रहेका छन् । उनी जुलाई २२ मा संयुक्त अरब इमिरेट्सबाट केरला आएको मन्त्री जर्जले बताएकी छन् ।


जुलाई १९ मा ती युवकले युएईमा नै मंकीपक्सको परीक्षण गराएका थिए भने उनको रिपोर्ट पोजेटिभ आएको थियो ।


२६ जुलाईको राती आफूमा मंकिपक्सको लक्षण देखिएपछि युवक आफ्नो परिवारसँगै रहेका थिए । उनलाई २७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो । २८ जुलाईमा अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो र ३० जुलाईमा उनको मृत्यु भयो ।


उनको मृत्युपछि आएको रिपोर्टमा उक्त व्यक्तिलाई मन्कीपक्स पोजेटिभ भएको बताइएको छ । टोली गठन गरी एनआइभीमा जीनोम सिक्वेन्सिङको काम भइरहेको छ ।


नियमअनुसार मृतकको निकट सम्पर्कमा रहेका परिवार, साथीभाइ र स्वास्थ्यकर्मीसहित कुल २० जनालाई निगरानीमा राखिएको छ ।


अफ्रिकाबाहिर संसारमा मंकीपक्सबाट मृत्यु हुने यो चौथो घटना हो ।