काठमाण्डौ । अजरबैजानको आक्रमणमा परी अर्मेनियाका ४९ जना सैनिकको मृत्यु भएको छ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनयानले मंगलबार संसदलाई अजरबैजानले सोमबार राती गरेको आक्रमणमा आफ्ना सैनिकहरू मारिएको जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ।
ब्ल्याक सी र क्यास्पियन सीको बीचमा पर्ने सोभियत युनियनका पूर्वसदस्य राष्ट्रहरू अजरबैजान र अर्मेनिया नागोर्नो–काराबाख क्षेत्रका विषयमा दशकौंदेखि विवादमा छन्।
अजरबैजानमा पर्ने उक्त क्षेत्रको केही भू–भाग अर्मेनिया समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छ।
अर्मेनियाका प्रधानमन्त्री पासिनयानले सोमबार राती आधा दर्जन स्थानमा अजरबैजानी सेनाले आक्रमण गरेको बताएका छन्। दुबै देशले सोमबारको तनाव चुलिनुमा एक–अर्कालाई दोष लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ।