भारतमा भारी वर्षा र बाढीबाट मृत्यु हुनेको सङख्या पचास पुग्यो

न्युजलय ६ भदौ २०७९, सोमबार १२:२९ मा प्रकाशित

एजेन्सी । भारतमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ ।

भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् ।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको बताइएको छ ।  

त्यसैगरी उडिसा र झारखण्डमा पनि भारी मात्रामा वर्षा र पहिरो गएको छ । यहाँ कतिपय विदेशी पर्यटकहरु थुनिएका र चेपिएका छन् । उनीहरुको उद्धार जारी रहेको बताइएको छ ।

यसअघि यहाँ आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो । बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ ।

बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।