इरानमा ६ रेक्टर स्केलमाथिका लगातार ३ शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

न्युजलय १८ असार २०७९, शनिवार ११:१६ मा प्रकाशित

काठमाण्डौ । दक्षिणी इरानमा शनिबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

इरानको सरकारी सञ्चारमाध्यमले जनाएका अनुसार उक्त भूकम्पपछि सो क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पमा पाँच जनाको मृत्यु भएको छ र अहिलेसम्म कम्तीमा १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ। राहत र उद्धार कार्य सुरु गरिएको छ । 

सरकारी समाचार एजेन्सी आईआरएनएले त्यहाँ एक दर्जनभन्दा बढी परकम्प गएको छ जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको जनाएको छ।

चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइनलगायत आसपासका धेरै देशहरूमा भूकम्पको धक्का महसुस भएको सामाजिक सञ्जालमा मानिसहरूले बताएका छन्।