काठमाडौं । भारतको दक्षिण कश्मिरस्थित अमरनाथ गुफा आसपासमा अत्याधिक वर्षा हुँदा १५ जना तीर्थयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ साढे ५ बजे उक्त क्षेत्रमा अत्याधिक वर्षापछि आएको बाढीका कारण उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।
क्लाउड ब्रस्टका समयमा उक्त क्षेत्रमा कम्तीमा पनि १० हजार तीर्थ यात्री रहेको बताइएको छ। घटनामा परी ४५ यात्रु अझै बेपत्ता छन्। अमरनाथ गुफा भारतको प्रसिद्ध तीर्थस्थल हो। यसअघि दुई वर्ष कोरोना संक्रमण रोकथामका लागि गुफामा दर्शन गर्न रोक लगाइएको थियो।
पहाडी क्षेत्रमा तीव्र गतिमा आएको यस्तो वर्षाले बालताल बेस क्याम्पमा रहेको २५ टेन्ट बगाएको थियो भने उक्त क्षेत्र केही बेरमै जलमग्न बनेको थियो। घटनामा परी फसेकालाई उद्धार तथा राहतका लागि एयरफोर्समसेत परिचालन गरिएको छ। उक्त क्षेत्रमा साढे ४ बजेदेखि साढे ६ बजेसम्म २ घण्टा ३१ एमएम वर्षा मापन गरिएको अटोमेटिक वेदर स्टेसन अमरनाथले जनाएको छ।