श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

न्युजलय ३१ असार २०७९, शुक्रबार ०८:१४ मा प्रकाशित

काठमाडौं । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । 


बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेका थिए तर विमानस्थलका कर्मचारीले उनले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो ।


यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसकेका छन् । उनले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिएका छन् । 


सिङ्गापुर सरकारले गोटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेको आरोपहरूको खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेको छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएको नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएको छ । 


यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । अन्तरिम राष्ट्रपति पदको शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घोषणा गरेका छन् । राष्ट्रपतिलाई सम्बोधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेको र राष्ट्रपतिको झण्डा हटाउने निर्णय गरेको उनले विज्ञप्तिमा भनेका छन् ।