डान्सबारमा कुटपिट हुँदा दुईजना घाइते, तीन पक्राउ

न्युजलय १४ बैशाख २०८३, सोमबार ११:१५ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका–२ स्थित गन्तव्य डान्सबारमा कुटपिट हुँदा दुईजना घाइते भएका छन् । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले तीनजनालाई नियन्त्रणमा लिएको छ। 

आइतबार राति डान्सबारमा कुटपिट भइरहेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनिको टोली पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घाइते हुनेमा मेचीनगर नगरपालिका–१ का २० वर्षीय सिद्धार्थ साह र ३० वर्षीय कर्ण राई रहेका छन्। साहको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको छ। दुवैजनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न मेचीनगर नगरपालिका–१२ निवासी २१ वर्षीय निशान लामा,२२ वर्षीय प्रशान्त लिम्बू र भद्रपुर नगरपालिका–८ का २२ वर्षीय नित्य राजवंशीलाई नियन्त्रणमा लिएको छ। 

घटनामा संलग्न अर्जुनधारा नगरपालिकाका २० वर्षीय लाक्पा तामाङ भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।